विद्यालयको स्थापना र विकास

स‌क्षेपमा विद्यालय

सालदेखि नमूना विद्यालयको अभ्यास प्रारम्भ ।विद्यालयको विकासक्रम ः
१.वि.स. २००४ सालमा भोजपुर बजारमा स्थापित उदय इङ््लिस मिडिल स्कुल र वि.स. २००५ सालमा टक्सार बजारमा स्थापित विद्याधरी मिडिल इङ््लिस स्कुल गाभेर वि.स. २००७ सालमा प्रजातन्त्र शिक्षा भवनको नामले सञ्चालन गर्ने निर्णय भई वि.स. २००८ साल असार ०७ गतेदेखि विद्योदय हाइस्कुल(कक्षा ५–१०)को विधिवत उद्घाटन,
२. वि.स. २०२५ देखि विद्योदय बहुउद्देश्यीय माध्यमिक विद्यालयको नामबाट सञ्चालन(व्यावसायिक विषयहरू जस्तै,कृषि,कुखुरापालन र धातु)
३.वि.स. २०३१ देखि कक्षा ४ सञ्चालन,
४.वि.स. २०६३ देखि उच्च मा.वि. कक्षा(११÷१२) सञ्चालन,
५.वि.स. २०६७ देखि विद्योदय मा.वि.(खुला सिकाइ) सञ्चालन,
६.वि.स.२०७० देखि उच्च मा.वि. कक्षा(११÷१२) विज्ञान कक्षा सञ्चालन,
७.वि.स. २०७३ देखि अङ्ग्रेजी माध्यममा बाल विकास देखि कक्षा(नर्सरी÷के.जी.) देखि प्राथमिक कक्षा सञ्चालन र अहिले कक्षा १० सम्म नेपाली र अङ्ग्रेजी दुबै माध्यममा पठनपाठन हुँदै
८.वि.स.२०७५नमूना विद्यालयको अभ्यास प्रारम्भ ।

नेपालको इतिहासमा १०४ वर्षे राणाकालीन एकतन्त्रीय शासन नेपाली जनताका लागि अन्धकारमय रह्यो । यसै सन्दर्भमा वि.सं. १९३२मा नै बालागुरु षडाननले भोजपुर दिङ्लामा संस्कृत पाठशालाको स्थापना गरी परम्परागत शिक्षाको प्रारम्भ गरेका थिए । संभवतः जनस्तरमा खोलिएको नेपालको पहिलो भाषा पाठशाला यो नै थियो । सरकारी संयन्त्रले बाध्य भएर भोजपुर जिल्लाका विभिन्न ठाँउहरु टक्सार, गोगने, फालिकोटमा पाठशालाहरु खोलेका थिए । राणकालीन शासनमा कुनै पनि विद्यालय खोल्न सरकारले इस्तिहार वि.सं. १९९६मा जारी गरेको थियो । स्वीकृति नलिई विद्यालय खोल्नु कानुनी रुपमा ठूलो अपराध मानिन्थ्यो । जनता पढन पनि डराउँथे तर पढने अभिलाषा भने तीब्र थियो । यस अवस्थामा श्री नारदमुनि थुलुङ र केही नवयुवाहरुलाई साथ लिएर वि.सं. २००४ साल वैशाख ४ गते भोजपुर बजारको चारभञ्ज्याङ्गमा आफै संस्थापक र शिक्षक भएर श्री इन्द्रप्रसाद श्रेष्ठ र श्री जयन्द्र थपलियाकाे सहयोगमा  उदय मिडिल इङ्लिस स्कुलको स्थापना गर्नुभयो ।  उदय स्कूलको स्थापना लगभग ५/६ महिना पश्चात् यस जिल्लाको औद्योगिक तथा व्यापारिक केन्द्र टक्सार बजारमा समाजसेवी दानबहादुर कार्कीको नेतृत्वमा यहाँका साहुमहाजन र प्रबुद्ध महानुभावहरुको सक्रियतामा विद्याधरी मिडिल इङलिस स्कुलको स्थापना गरियो । यो विद्यालयको प्रमुख शिक्षक उत्साही युवक श्री जगदीश नेपाली हुनुहुन्थ्यो । यी दुवै विद्यालयको सञ्चालन आफ्नै गतिमा अगाडि बढ्दै गयो । उच्च शिक्षा हासिल गर्ने चाहना र आवश्यकता चुनौतिको रुपमा अगाडि खडा हुन गयो । यो समस्यालाई समाधान गर्न दुवै विद्यालयको सक्रियता, विश्वास र सद्भावनाको आवश्यकता महसुस गरियो र वि.सं. २००७ साल फाल्गुण ३० गते दुवै विद्यालयका सेक्रेटरीहरु र विशिष्ट महानुभावहरुको भेला गराई श्री नारदमुनि थुलुङको अध्यक्षतामा निम्न प्रस्तावहरु पारित गरी एउटा कार्यकारिणी समिति गठन गरियो ।

प्रस्तावहरुः

१     भोजपुर बजार र टक्सार बजार बीचमा पर्ने गरी दुवै स्कूललाई कम्वाइण्ड स्कूलमा स्थापना गर्ने ।

२     दुवै मिडिल स्कुलहरुलाई हाईस्कूलको अण्डरमा राख्ने ।

३     हाईस्कुलको नाम श्री भोजपुर प्रजातन्त्र शिक्षा भवन राख्ने ।

४     स्कुल चलाउनको लागि सालमा रु. १०,०००।– (दश हजार) सरकारसंग माग गर्ने ।

५     कार्यकारिणीको गठनः

क    श्री दान बहादुर शाक्य सभापति – चुहानडाँडा

ख    श्री मकर बहादुर राई–उपसभापति – दिल्पा

ग     श्री चण्डीप्रसाद श्रेष्ठ–सेक्रेटरी – भोजपुर

घ     श्री चन्द्रप्रसाद श्रेष्ठ–एकाउन्टेन्ट – भोजपुर

ङ     श्री सिद्धिबहादुर तमोट–कोषाध्यक्ष – खिकामाछा, टक्सार

च     डा. श्री भूदेव राई–निरीक्षक – छिनामखु

छ    जम. श्री रणबहादर श्रेष्ठ–सदस्य – भोजपुर

ज     श्री गङ्गाप्रसाद भट्टराई–सदस्य – काफ्ले

झ     श्री गोविन्दप्रसाद कोइराला–सदस्य – पोखरे

ञ     श्री जगतलाल श्रेष्ठ–सदस्य – भोजपुर

ट     श्री लालधन शाक्य–सदस्य – खिकामाछा, टक्सार

ठ     श्री खडगबहादुर कार्की–सदस्य – खिकामाछा, टक्सार

ड     श्री पूर्ण बहादर तमोट–सदस्य – खिकामाछा, टक्सार

ढ     श्री थीर बहादुर हलवाई–सदस्य – खिकामाछा, टक्सार

ण     श्री मीनबहादुर श्रेष्ठ–सदस्य –  टक्सार

 नवगठित कार्य समितिको वि.सं. २००७ साल चैत्र ४ गतेको बैठकले विद्यालय भवन निर्माण गर्न रु ११,०००। र आर्थिक सहयोग स्वरुप रु १०,०००। तत्कालीन सामयिक सरकारसंग माग गर्ने निर्णय गरेको थियो । विद्यालय भवन निर्माणका लागि निम्नानुसार जिम्मेवारी तोकिएको थियो ।

काठपातको व्यवस्था गर्ने र ईंटा पोल्ने कार्य  – श्री मकरबहादुर बान्तावा, श्री रणबहादुर श्रेष्ठ   र श्री जगतलाल श्रेष्ठ

ईटाको व्यवस्था– श्री खडगबहादर कार्की, श्री सिद्धिबहादुर तमोट, श्री थीरबहादुर हलवाई र श्री दानबहादुर शाक्य

चुना र सुर्कीका लागि – श्री मीनबहादुर श्रेष्ठ, श्री लालधन शाक्य

ईटा पोल्नका लागि दाउराको व्यवस्था – श्री गोविन्दप्रसाद कोइराला, श्री चन्द्रप्रसाद श्रेष्ठ, श्री जगतलाल श्रेष्ठ

कार्यकारिणीको बैठकले पढाइ तुरुन्त सञ्चालन गर्न दुवै स्कुलहरुका विद्यार्थीहरुका लागि कैलाशडाँडामा अस्थायी छाप्रो बनाई पढाइ सञ्चालन गर्ने निधो ग¥यो । यसै बैठकले बाहिरबाट एक ग्रेजुयट, एक जना बि.एस्सी. र दुई जना म्याट्रीकुलेशन शिक्षकहरु यथाशीघ्र झिकाउने निर्णय ग¥यो । यसपछि वि.सं. २००८ साल ज्येष्ठ ३१ गतेको बैठकले स्कुलको विधिवत् उद्घाटन वि.सं. २००८ साल आषाढ ७ गते विहीबारका दिन दिउँसो २ बजे गर्ने साइत जुरेको प्रस्ताव पारित ग¥यो । उदय स्कूल र विद्याधरी स्कुललाई मिलाएर नयाँ स्कुलको नाम श्री प्रजातन्त्र भोजपुर शिक्षा भवन राख्ने निर्णय सञ्चालक समितिबाट भइसकेतापनि सञ्चालक समितिका एक सदस्य श्री लालधन शाक्यबाट विद्याधरीको विद्या र उदय मिलाइ विद्योदय नामाकरण गर्न उचित राय सञ्चालक समितिका सदस्यहरुसमक्ष पेस गरेपछि सोहीबमोजिम स्कुलको नाम विद्योदय राखिएको थियो । निर्धारित मिति र समयमा श्री विद्योदय हाइ स्कुलको नाम घोषणा गरेर कप्तान प्रेमसिंह राईबाट स्कूलको उद्घाटन गरिएको थियो । पढाइ  २००८ साल असार १० गते आइतबारदेखि शुरु भएको थियो । विद्योदय विद्यालयको भवन निर्माणका लागि भोजपुर र टक्सारका विद्यार्थीहरुलाई अनुकूल हुने गरी बीचमा पर्नेगरी हालको विद्यालय भवन रहेको स्थानमा निर्माण गरी वि.सं. २००८ सालबाट पठनपाठन सुरु भयो । विद्यालय सञ्चालन र  भवन निर्माणका लागि तत्कालीन सामयिक सरकार भोजपुरले आर्थिक सहयोग जुटाएको थियो । सोहीअनुसार हाइस्कुल बनाउन रु ११,०००। र वार्षिक १०,०००। गरी जम्मा २१,०००। उपलब्ध गराउने निर्णय सामयिक सरकारबाट भएको थियो । यसरी विद्योदय स्कुलको स्थापनामा भोजपुरे शिक्षाप्रेमी जनसमुदायको अग्रसरता र भोजपुर सामयिक सरकारको सहयोग उल्लेख्य रहेको थियो । शिक्षा सर्वसुलभ नभएको अवस्थामा यस विद्यालयको स्थापनाले पूर्वी नेपालका विभिन्न जिल्लाका विद्यार्थीहरुले अङ्ग्रेजी विषय अध्ययन गर्न पाउने अवसर प्राप्त हुन गयो । यसरी नेपालको शैक्षिक इतिहासमा भोजपुरको भूमिका परम्परागत र आधुनिक शिक्षा प्रदान गर्नमा अग्रणी रहिआएको छ ।

यस विद्यालयले करीब ६ दशकसम्म माध्यमिक तहसम्मको कक्षा सञ्चालन गर्दै रहयो । यस अवधिसम्ममा यस संस्थाले थुप्रै जनशक्ति उत्पादन गरेर शिक्षा क्षेत्रमार्फत राष्ट्रलाई ठूलो योगदान पु¥याएको छ । वि.सं. २०६३ सालदेखि उच्च माध्यमिक शिक्षा परिषदबाट सम्बन्धन प्राप्त गरी १०ं+२ कक्षा सञ्चालन भएर शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायमा अध्यापन कार्य हुँदै आइरहेको छ । शैक्षिक सत्र २०७०देखि विज्ञान सङकायमा पनि कक्षाहरु सञ्चालन भइरहेका छन् । नयाँ व्यवस्थाअनुसार यो विद्यालयको  संरचनालाई ०—१२ बनाउनु पर्ने भएको हुँदा वि.सं. २०७३ देखि नर्सरी केजी र कक्षा १ अनुमति लिई कक्षाहरु सञ्चालन सुरु भएका छन् । कक्षा १लाई क्रमशः हाल ०—१२ को संरचनामा परिवर्तन भईसकेको छ ।

१.२ विद्यलयको सेवाक्षेत्रः

 भौगोलिक दृष्टिकोणले यो विद्यालय भोजपुर जिल्लाको सदरमुकाममा रहेको साविक गा.वि.स. भोजपुर र छिमेकी गा.वि.स. टक्सारको बीचमा अवस्थित भए तापनि सँगैका छिमेकी साविक गा.वि.स. बोखिम र भैंसीपङ्खा गा.वि.स. समेतका जनसमुदायहरु यस विद्यालयको समुदायभित्र पर्दछन् । हाल यी सवै साविक गा.वि.स.हरु भोजपुर नगरपालिका भित्र पर्दछन । यो नगरपालिकाभित्रमा विभिन्न जातजाति रहेकाले यहाँ धार्मिक तथा सांस्कृतिक विविधता पाइन्छन् । विद्यालय समुदायभित्र  राई, नेवार, क्षेत्री, बाहुन, तामाङ, शेर्पा, दमाई, कामी सार्की लगायतका जातजातिका मानिसहरुको बसोबास रहेको छ । सोही जातजातिका विद्यार्थीहरु नै विद्यालयआउने गर्दछन् । धर्म तथा संस्कृति भिन्नभिन्न नै छन् । यी समुदायहरुमा मुख्यतया हिन्दू, बौद्ध तथा किराँत धर्म मान्नेहरु नै छन् । चाड पर्वहरुमा आ–आफ्नो संस्कृति अनुसार दशै, तिहार, ल्होसार, साकेला(उधौली एवम् उभौली), बैशाख पूर्णिमा, गाईजात्रा, आदि पर्दछन् । मातृभाषाका रुपमा नेपाली, राइर्, तामाङ र नेवारी भाषाहरु  घरव्यवहारमा पाकाहरुले प्रयोग गरे तापनि अधिकांशले नेपाली भाषा नै  बोल्ने  गर्दछन्् । यी समुदायको आर्थिक अवस्था न्यून नै रहेको छ ।

यस विद्यालयको स्थापना पश्चात यो भोजपुर जिल्लाकै समुदायहरुलाई माध्यमिक स्तरसम्मको शिक्षा प्रदान गर्ने शैक्षिक संस्था रहन गयो  भने स्थापनाका धेरै वर्षहरुसम्म छिमेकी जिल्ला खोटाङको पूर्वी भेक र पूरै भोजपुर जिल्ला यस विद्यालयको माध्यमिक तहको सेवाक्षेत्र रहन गएको थियो । समयको गतिसँंगै शिक्षाको मागमा वृद्धि हुन गई जिल्लाका विभिन्न भागमा माध्यमिक विद्यालयको स्थापना हुने क्रम बढ्दै जाँदा पछिल्लो समयमा साविक भोजपुर, टक्सार, बोखिम, भैंसीपङ्खा गा.वि.स.हरु यस विद्यालयको सेवाक्षेत्र रहन गएको थियो । त्यसपछि पनि साविक टक्सार गा.वि.स.मा उच्च माध्यमिक विद्यालय साथै बोखिम र भैंसीपङ्खा गा.वि.स.हरुमा एक एक मा.वि.हरुको स्थापनाले यस विद्यालयको सेवाक्षेत्र खुम्चिन गई साविक भोजपुर गा.वि.स.मा मात्र सीमित हुन गएको छ । अझ सदरमुकामभित्रै चारवटा संस्थागत माध्यमिक विद्यालयहरु सञ्चालन भइआएको कारण उच्च आर्थिक हैसियत रहेका सेवाग्राहीहरु यस विद्यालयमा आउन छोडेका छन् । तथापि सदरमुकामकैे पुरानो तथा ऐतिहासिक विद्यालय र जिल्लाका गाउँहरुका विद्यालयहरुको तुलनामा बढी व्यवस्थित भएको कारण जिल्लाका विभिन्न गाउँबाट विद्यार्थीहरु यस विद्यालयमा आउने गरेका छन् । सदरमुकाममा अध्ययनका साथसाथै विद्यार्थीहरुका लागि सुविधा तथा अवसरहरुको सम्भावनाहरु गाउँभन्दा बढी रहने भएको र माध्यमिक तह कक्षा ११ र १२मा तीनवटा सङ्कायहरु व्यवस्थापन, शिक्षा र मानविकी अन्तरगतका विभिन्न विषयहरुबाट आफ्नो रुचीअनुसारका विषय छनौट गरी अध्ययन गर्न पाइने तथा विषयगत शिक्षकहरुको उपलब्धता तुलनात्मक रुपमा राम्रा हुने भएकाले १०ं+२ का लागि सेवाक्षेत्र जिल्लाभरिका गाउँहरुसमेत रहेको पाइएको छ । शैक्षिक सत्र २०७० देखि यस विद्यालयमा माध्यमिक तह कक्षा ११ र १२ मा विज्ञान विषयको समेत कक्षा सञ्चालन हुदै आएकाले यस विद्यालयको सेवाक्षेत्रभित्र छिमेकी जिल्ला खोटाङको पूर्वी भेग समेत रहेको छ ।

१.३ विद्यालयमा सञ्चालित कार्यहरुः

 यस विद्यालयमा स्थापना कालदेखि नै नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभागबाट तोकिएका कार्यक्रमहरु शिक्षा ऐन नियमावली अनुसार निरन्तर रुपमा सञ्चालन भैरहेका छन् । यस विद्यालयमा वि.संं. २०६२ सालसम्म कक्षा ६ देखि कक्षा १०सम्मको माध्यमिक तह सञ्चालन हुँदै आइकोमा शैक्षिक सत्र २०६३देखि कक्षा ११ र १२को पठनपाठन हुँदै आएको छ । हाल कक्षा ११ र १२ मा विद्यार्थीहरुले मानविकी, शिक्षा, व्यवस्थापन र विज्ञान सङ्काय अन्तरगत विभिन्न विषयमा अध्ययन गर्ने अवसर प्राप्त गरिरहेका छन् । शैक्षिक सत्र २०६७ देखि यस विद्यालयमा अनौपचारिक शिक्षाअन्तर्गत खुला शिक्षा सञ्चालन भैरहेकोछ । वि.सं. २०७३ देखि पूर्व प्राथमिक देखीे कक्षा  ५ सम्म अङ्ग्रजी माध्यमबाट र कक्षा ६ देखी ९ सम्म अङ्ग्रजी एवंम नेपाली दुवै माध्ययमवाट पठन पाठन सञ्चालन गर्न सुरु गरिएको छ । नियमित कक्षा सञ्चालन, कक्षा १० सम्म निशुल्क पाठ्यपुस्तक वितरण, सरकारी तथा नीजि अक्षयकोषदाताहरुबाट उपलब्ध छात्रवृत्ति वितरणका साथै विद्यार्थीहरुको सर्वाङ्गीण विकासका लागि वर्षेनी विभिन्न अतिरिक्त क्रियाकलापहरु  सञ्चालन गरिदै आइरहेका छन् भने प्रथम, त्रैमासिक, दोस्रो त्रैमासिक र अन्तिम परीक्षाहरु विद्यार्थी मूल्याङ्कनका साधनका रुपमा सञ्चालन भैरहेका छन् । विद्यालयको भौतिक व्यवस्थापनमा नेपाल सरकार शिक्षा मन्त्रालय,शान्ति मन्त्रालय, सांसद विकास कोष, जिल्ला विकास समिति, भोजपुर नगरपालिका ,भारतीय दूतावास, ब्रिटिश वेलफेयर सेन्टर,  आर आर एन, इश्वर मन्दिर जस्ता गैर सरकारी, सरकारी, वैदेशिक दातृनिकायको सहयोग रहेको जसबाट विद्यालयको भवन, कक्षाकोठा, सौचालय, फर्निचर, प्रयोगशाला, पुस्तकालय आदिको निर्माण भएका छन् ।यसरी नै विद्यालयको विकासका लागि यस विद्यालयप्रति सदभाव राख्नुहुने पूर्व विद्यार्थीहरु तथा विभिन्न महानुभावहरुले भवन निर्माण, छात्रवृत्ति अक्षयकोेषहरुको स्थापना, नगद दान, जग्गादान गर्दै आउनु भएको छ । फर्निचर व्यवस्थापन, मर्मत सम्भार कार्यक्रम आवश्यकताअनुसार सालबसाली भइरहेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top